कञ्चनपुरमा गठबन्धनबाट बाहिरियो समाजवादी, दुई मन्त्रीले दिए बागी उम्मेदवारी
धनगढी: कञ्चनपुरमा नेकपा एकीकृत समाजवादीका दुई मन्त्रीले बागी उम्मेदवारी दर्ता गराएका छन्। आइतबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावल र पूर्व सामाजिक विकासमन्त्री लालबहादुर खड्काले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका हुन्।
तीन संघीय र ६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये एउटा पनि सीट नपाएपछि सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादी बाहिरिएको हो। रावल प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ३ (क) र खड्का क्षेत्र नम्बर २ (ख) मा चुनाव लड्नेछन्।
सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादीले ३ (क) र २ (ख) मा अन्तिमसम्म दाबी गरेको थियो। प्रदेश सभा ३ (क) मा सत्तारुढ गठबन्धनबाट माओवादीका संविधानसभा सदस्य टेकेन्द्रप्रसाद भट्ट र २ (ख) मा कांग्रेसका नेता समेत रहेका संविधान सभा सदस्य बहादुरसिंह थापाले टिकट पाएका छन्।