सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली काँग्रेस गोदावरी कमिटीद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख सहयोग

२०८३ भदौ २०, ०८:२३ खबर संवाददाता

अत्तरिया: भोटेकोशीमा आएको बाढीका कारण प्रभावित भएकाहरुका लागि नेपाली काँग्रेस गोदावरीले सहयोग गरेको छ ।

नेपाली काँग्रेस गोदावरीले बाढी प्रभावितहरुका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख १ हजार १११ रुपैया सहयोग गरेको हो ।

शुक्रबार कैलालीको गोदावरी नगरपालिकामा रहेका कांग्रेसका नेता कार्यकर्ताहरुले आ–आफ्नो इच्छाअनुसारको रकम एकमुष्ट संकलन गरी राहत कोषमा जम्मा गरेका हुन् ।

गोदावरी काँग्रेसले केही समय अघिदेखि ‘जसको कोही छैन, उसको नेपाली काँग्रेस’ नामक अभियान सञ्चालन गर्दै आएको थियो ।

जसअन्तरगत विभिन्न समयमा समस्यामा परेका गोदावरीबासीहरुलाई कांग्रेस गोदावरीले सहयोग गर्दै आएको थियो । सोही अभियान अन्तरगत नै बाढी प्रभावितहरुको राहत, पुर्नस्थापना तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा रकम सहयोग गरिएको नेपाली काँग्रेस गोदावरी नगरकार्यसमितिका सचिव योगेश भट्टले जानकारी दिए ।

उनले नेपाली काँग्रेस केन्द्रको निर्देशन बमोजिम विपद्का समयमा पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले सहयोग गरिएको बताए । उनका अनुसार बाढीप्रभावितहरुका लागि कांग्रेसका नेता कार्यकर्ताहरुले स्वेच्छिक रुपमा रकम संकलन गरेका हुन् ।

कमेन्ट लोड गर्नुस