स्याफ्रुबेँसीमा बाढीले भत्काएको पुल पुनः सञ्चालनमा
काठमाडौं: बाढीका कारण क्षतिग्रस्त भएको रसुवाको स्याफ्रुबेँसीस्थित पुल पुनर्निर्माण सम्पन्न भएसँगै पुनः सञ्चालनमा आएको छ। भदौ १० गते आएको बाढीले क्षति पुर्याएको पुल विभिन्न निकाय र स्थानीय समुदायको संयुक्त प्रयासमा तीन दिनमै पुनर्निर्माण गरिएको हो।
पुल पुनर्निर्माणमा नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड तथा आमाछोदिङमो गाउँपालिकाका वडा प्रतिनिधि र कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय समुदायले संयुक्त रूपमा श्रमदान गरेका थिए।
पुनर्निर्माणका लागि आवश्यक सामग्री र मिस्त्रीको ज्याला नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको जनाइएको छ।
विपद्को कठिन परिस्थितिमा सबै पक्षबीचको एकता, सहकार्य र सामूहिक प्रयासबाट छोटो समयमै पुल पुनर्निर्माण हुनु उदाहरणीय भएको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य शारदा कुमार न्यौपानेले बताए।
पुल पुनः सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाको आवागमनमा सहजता हुने अपेक्षा गरिएको छ।