उखुवारीमा मासिक २० रुपैयाँको जागिरदेखि चर्चित गीतारुसम्म
दलबहादुर बोगटीको संघर्षको कथा
युवापुस्ताहरु सुदुरपश्चिमको धरोहर देउडा संस्कृतिलाई बिर्सिदै जादाँ आफ्नो पुरै जीवन डेउडाको विकास र विस्तारमा समर्पित गरेका कलाकाहरुमा भने निराशा छाएको छ । आफ्नो सिङगो जीवन देउडासंगै विताएर अहिले पनि सुदुरपश्चिमको कला र संस्कृतिको उत्थानका लागि प्रयत्नसिल कलाकारहरुको संघर्ष अझै जारी छ ।
तीनै मध्येका एक हुन्, झण्डै ५ दशकदेखि देउडा गीतसँगै रम्दै आएका देउडा गायक÷संकलक तथा संस्कृतिकर्मी दलबहादुर बोगटी, बोगटी अहिले सुदुरपश्चिमको धरोहर देउडाका चर्चित गितारुका रुपमा परिचित छन् । डोटी जिल्लाको मुडेगाउँमा जन्मिएका ६४ बर्षीय दलवहादुर बोगटीको बाल्यकाल निकै कष्टकर बित्यो ।
५ बर्षको उमेरमै बुवाको निधन भएपछि दुधे भाई रामवहादुर सहित सात जनाको परिवार साहारा विहीन भयो । ३५ बर्षकै कलिलो उमेरमा पति वियोग भोग्नु भएकी आमाले दुःख सुख खेप्दै हुर्काएका दलवहादुरले विद्यालय देख्नै पाएनन् । सोही समयमा वोगटीले काठको पाटीमा रातो माटो प्रयोग गरेर कखरा लेख्न सिके तर घरको अवस्थाले देउडा गायक बन्ने सपना त्यतिवेला पुरा भएन् ।
सरकारले सोही समयमा भुमी सुधार ऐन लागु गरेपछि गाउँले मिलेर बोगटीको जग्गा कव्जा गरेपछि बोगटीले भारतको बरेलीमा ६ महिना जति उखुवारीमा मासिक २० रुपैया तलवमा चौकीदारको काम गरे । तर बेला सवैको आउँछ भनेझै २०२५ सालमा नेपाल प्रहरीको जवान पदमा भर्ना भएका वोगटी, २०४९ सालमा प्रहरी नायव निरिक्षक पदबाट सेवानिवृत भए ।
बाल्यकालदेखि नै देउडिया बन्ने सपना बुनेका बोगटीले जागिरकै क्रममा सुदुरपश्चिमका ९ वटै जिल्लामा आयोजना हुने मेला जात्रामा डेउडा हाल्ने अवसर पाएपछि, फरक पहिचान त बन्यो नै बोगटीलाई देउडाका पारखीहरुले देउडीया भनेर चिन्न पनि थाले । डेउडाको विकास तथा प्रचार प्रसार गर्न सुदूरपश्चिमका कुना कन्दरा हुँदै मध्यपश्चिमका बिभिन्न जिल्लाहरुमा पुगेका बोगटी प्रहरीको जागीरवाट अवकास पाएपछि यस क्षेत्रमा आयोजना हुने देउडाका सबै कार्यक्रममा सहभागी हुदै आएका छन् ।
उनका भाकामा गाउँ बस्तिका कथा, ब्यथाहरुसंगै वर्तमान देशका पिडाहरुले पनि स्थान पाउदै आएका छन् । नेपाल पूर्व प्रहरी संगठन कैलाली र लोक तथा दोहरी गीत प्रतिष्ठान कैलालीका अध्यक्ष समेत रहेका बोगटीले सुदुरपश्चिमको कला संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले स्थापना भएका थुप्रै साहित्यक संघ संस्थामा पनि आवद्ध छन् ।