सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुर्सीमा बस्दा कसरी बस्ने?

। फोटो स्रोत ।
२०७६ माघ २३, ०६:२३ खबर संवाददाता

बसेर काम गर्नेहरुको स्वास्थ्यलाई ध्यानमा राखेर निर्माण गरिएका कुर्सीले समेत धेरै लामो समय बसिरहेमा काम गर्दैनन्। अर्थात् शरीरमा राम्रो पोस्चर कायम राख्ने एक मात्र उपाय भनेको नियमित हलचल गरिरहनु हो। स्वास्थ्यविद्हरुका अनुसार जस्तोसुकै कुर्सी र जुनसुकै पोजिसन भए पनि लामो समयसम्म एकैठाउँ बसिरहनुले हाम्रो शरीरमा नकारात्मक असर पार्छ जसमा जोर्नी र मांसपेसीहरु दुख्नु सामान्य हो। यसकारण पनि प्रत्येक घण्टा पाँच मिनेटका लागि भए पनि उठेर हिँडडुल गर्न उनीहरुको सुझाव छ। 

यसमा हामीले अफिसमा कसैसँग काम पर्दा इमेल वा म्यासेजबाट नभनेर सीधै उनीहरुकहाँ हिँडेर जाने बानी गर्न भनेका छन्। त्यस्तै घरबाट काम गरिरहेको अवस्थामा हामी झन् बढी सचेत रहनुपर्ने पनि भनिएको छ किनकि किचनको कुर्सी अथवा सामान्य सोफा अफिसको जति राम्रो हुँदैन। त्यसैले घरबाट काम गर्दा अझ बढी ब्रेक लिने गर्नुपर्छ। सोफामा सजिलोगरी बस्नुले तुलनात्मक रुपमा शरीरलाई कम असर पार्ने भएपनि लामो समय आराम गर्नु समेत ठीक नभएको बताइएको छ। 

त्यसैले हड्डी र मांसपेसीहरुलाई स्वस्थ राख्ने सबैभन्दा प्रभावकारी उपाय भनेको हलचल गरिरहनु हो। अफिसको कुर्सीमा बस्दा राम्रो पोस्चर प्राप्त गर्नका लागि भने हामीले शरीरको धेरै भन्दा धेरै भाग कुर्सीसँग सम्पर्कमा राख्ने प्रयास गर्नुपर्छ। जस्तै यसमा कुर्सीको पछाडिको सपोर्ट हाम्रो ढाडको ‘कर्भ’ सँग मिलाएर बस्नुपर्ने हुन्छ। यसमा हाम्रो खुट्टा पनि फुटरेस्ट वा भुईँमा स्थिर रुपमा राख्ने गर्नुपर्छ भने कुर्सीको लम्बाइ पनि मिलाएर बस्ने गर्न स्वास्थ्यविद्हरुले सझुाव दिएका छन्। 

तर कुर्सीमा भएको आमरेस्ट अर्थात् हात राख्नेबारे भने चिन्ता गर्नु नपर्ने बताइएको छ।  किनकि आमरेस्ट हात राख्न भन्दा पनि हामीलाई कुर्सीबाट उठ्न र बस्न सहज बनाउनका लागि निर्माण गरिएको हुन्छ।  त्यसैले कुमको समस्या नभएकाहरुलाई आमरेस्टले कुनै प्रभाव पार्दैन। यसरी दिनभर काम गरेर कुर्सीमा बसिरहनु पर्दा थकान अपरिहार्य छ किनकी हाम्रा मांसपेसीहरु छिटै गल्ने प्रवृत्तिका हुन्छन्। 

तर कुर्सीलाई राम्रोसँग मिलाएर बस्दा भने सो थकान धेरै कम गराउन सकिन्छ। यसकारण लामो समयको बसाइँले जीउ दुखेको महसुस भएमा लगत्तै उठेर हिँडडुल गर्नु प्रभावकारी हुने बताइएको छ। द गार्जियनबाट
 

कमेन्ट लोड गर्नुस