सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनकको सांगीतिक छलाङ

२०७५ भदौ २५, ०३:४२

नेपालको दूरदराज डडेल्धुराको दमडामा जन्मेका जनक ताम्राकार डडेल्धुराको माटोको सुगन्धलाई संसारैभरी छर्ने महान जिम्मेवारी बोकिरहेका छन्। कुनै बेला डडेल्धुराका सञ्चारमाध्यममा गुञ्जिने त्यो स्वर अव संसार भरिका नेपालीहरुलाई सुनाउन तयार भएको छ। जो पहिलो गीतबाटै आफ्नो परिचयलाई विस्तृत बनाउन सफल भएका थिए। 
ताम्राकारको छनौट भएसंगै अन्तराष्ट्रिय रियालिटी शो “भोईस अफ नेपाल “ मा सुदूरको माटोले पनि प्रतिनिधित्व गर्ने मौका पाएको छ। डडेल्धुरा अमरगढी नगरपालिका वडा नम्वर ६ दुमडा स्थित गणेशमान स्मृती स्कुलमा कक्षा ४ मा अध्ययन गर्दा नै ताम्राकारले आफुभित्र गायन क्षमता रहेको थाह पाइसकेका थिए। 
स्कुलमा गायको एउटा गीतले नै ताम्राकारको गायन क्षमताको निकै चर्चा भएपछि उनले आफुभित्र रहेको गायन कलालाई श्रोता दर्शकमाझ पस्किने निधो गरे । तर ४ कक्षामै पढ्ने बेला गीत रेकर्ड गर्दै बजारमा ल्याउन उनका लागि फलामको चिउरा चपाउन बराबर नै थियो। 
बेला–बेला सांगीतिक कार्यक्रममा ताम्राकारको सहभागिता रहिरह्यो तर गीत बजारमा ल्याउने सपना भने आफ्नो गायन क्षमताको परिचय खुलेको लामो समयसम्म पनि पुरा भएन्। उनले डडेल्धुराकै पोखरामा रहेको उग्रतारा उच्च माविमा अध्ययनलाई निरन्तरता दिँदै ‘आफ्नो एफएम’मा काम गर्न थाले। उनमा बालापनमा गीत गाउने हुटहुटी जति थियो, एफएममा काम गर्न थालेपछि त्यस्तै भयो पत्रकारीता पेशामा पनि। 
उनले डडेल्धुरा छोडेपछि तीन वर्षसम्म ओखलढुंगाको रेडियोमा काम गरे। झण्डै एक बर्ष अगाडी आफ्नै दाई महेश ताम्राकारको शब्द तथा संगीत रहेको जुनकीरी बोलको गीत बजारमा आयो। ताम्राकारको जुनकिरीमा नेपाली र डोटेली भाषाको समिश्रण पाउन सकिन्छ। जुनकिरीले नै ताम्राकारलाई नेपाली संगीत क्षेत्रमा परिचित हुने मौका पनि जुरायो।

डोटेली र नेपाली भाषाका शब्दहरु पाउन सकिने सो गीतमा टाईटल जुनकिरीको अर्थ मायाको संकेत रहेको बुझिन्छ। ताम्राकारको दोश्रो गीत काफल खान्या कुइयाँ, आल्मोड़ा राना उप्रेतीसँंगको सहकार्यमा बजारमा आयो । ताम्राकारले सुदूरपश्चमका पाखा पखेरामा गाइने शब्दहरुलाई सबै नेपालीहरुले बुझ्न सक्ने शैलीमा त्यो गीत बनाएका छन् । यो गीत डोटेली र कुमाउँनी लोकभाका को समिश्रण हो । 
काफल खान्या कुइयाँ मर्यो ला जुनकीरी शीशाकी गोलीले 
लाग्दै माया बढ्दै गयो ला जुनकीरी त्यो तम्रो बोलीले 

छोेटो समय मा नै यस गीतले दर्शक श्रोतामाझ ठूलो चर्चा कमायो। यस गीतले सफलता पाउनुको पछि गायक ताम्राकारको स्वर नै रहेको धेरैले चर्चा गरे। ताम्राकारको नयाँ गीत लौ लौ सररर हालै सार्वजनिक भएको छ। यस गीतमा जनकको स्वर तथा महेशको शब्द संगीत रहेको छ। निकै नै पृथक ढंगको यस गीतमा डोटेली र नेपाली भाषाको सुन्दर प्रयोग पाउन सकिन्छ। 
नेपाली संगीतका पारखीलाई अहिलेसम्म तीन वटा गीत मात्रै दिन सकेका ताम्राकारलाई सांगीतिक क्षेत्रमा सक्रिय भएको पनि एक वर्ष मात्रै भएको छ। शास्त्रीय संगीतमा डिप्लोमा गरिरहेका उनको अहिले अन्तराष्ट्रिय रियालिटी शो “भोईस अफ नेपाल” मा छनौट भईसकेका छन्। अहिले सम्मको प्रशारण भए अनुसार जनक, “भोईस अफ नेपाल” मा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने एक्ला प्रतिस्पर्धी हुन्।

ब्लाईन्ड अडिसनमा गीत गाउँदा उनको गायकीको चारै जना प्रशिक्षकहरुले तारिफ गरे तर दुई जनाले मात्रै उनको गायकीलाई स्वीकार गरे। दिप श्रेष्ठको टिमलाई छनौट गरेका ताम्राकारलाई “भोईस अफ नेपाल” को विजेता बन्ने रहर छ। उनलाई श्ुाभकामना छ।
 

कमेन्ट लोड गर्नुस