कञ्चनपुरमा नगर विकास समितिको जग्गा लिनेलाई एमालेले कारबाही गर्ने
कञ्चनपुरः नेकपा (एमाले) कञ्चनपुरले तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा अवैध रुपमा लिने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा दोषी ठहरिएका नेता तथा कार्यकर्तालाई कारबाही गर्ने जनाएको हो।
एमाले कञ्चनपुरकी इन्चार्ज निरू पालले नगर विकास समितिको जग्गा प्रकरणमा मुछिएका नेता तथा कार्यकर्तालाई कारबाही गरिने बताइन्। बिहीवार एक कार्यक्रममा उनले भनिन, ‘त्यसमा संलग्न जो सुकै भएपनि पुष्टि भए कारबाही हुन्छ।’
आयोगको केन्द्रीय टोलीले केही दिनदेखि नगर विकास समितिको जग्गा प्रकरणको छानबिन गरिरहेको छ। जग्गा अवैध रुपमा लिनेमा एमाले, नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चालगायत दलका नेता कार्यकर्ता छन्। उनीहरुसँगै यी दल संवद्ध पत्रकारहरुले पनि रहेका छन्। नगर विकास समिति स्रोतका अनुसार जग्गा लिनेमा झण्डै २०० जना छन्।