सुदूर नेपाललाई विश्वसँग जोड्दै

उम्मेदवारी दर्ता गर्न प्रचण्ड र बाबुराम सँगै गोरखा हुँइकिने

२०७९ असोज २२, ०९:३६ खबर संवाददाता

काठमाडौंः आसन्न निर्वाचनको उम्मेदवारी दर्ता गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई सँगै गोरखा जाने भएका छन्।

प्रचण्डले गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराउँदैछन्। गोरखा २ बाबुरामको पनि क्षेत्र हो। यसअघि माओवादीको चुनाव चिह्नबाट बाबुरामले प्रतिस्पर्धा गर्ने भनिएको थियो तर अन्तिम समयमा माओवादी अध्यक्ष प्रचण्डले अघिल्लो पटक आफू निर्वाचित भएको चितवन क्षेत्र नम्बर ३ छाडेर गोरखा २ रोजेका थिए।

बाबुरामले मध्यरातमा ट्वीट गर्दै प्रचण्ड गोरखाबाट चुनाव लड्नुमा ठूलो सांकेतिक महत्व रहेको भन्दै उनलाई ‘अन्तर हृदयदेखि स्वागत’ गरेको बताएका छन्। भट्टराई आफैंले यो पटक प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरिसकेका छन्।

बाबुरामको सचिवालयका एक सदस्यले भोलि उम्मेदवारी दर्ता गर्न प्रचण्ड र बाबुराम सँगै गोरखा जाने जानकारी दिए। निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ।

कमेन्ट लोड गर्नुस