सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा आरजुले गरिन् प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता

२०७९ असोज २३, ०३:२५ खबर संवाददाता

धनगढीः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी दर्ता भएको छ। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर उनकी पत्नी आरजु राणा देउवाले उम्मेदवारी दर्ता गराएकी हुन्।

वारिसनामा मार्फत आरजुले उम्मेदवारी दर्ता गरेको बताएकी छन्। देउवाको प्रस्तावक काँग्रेस डडेल्धुराका सचिव हेमराज चटौत रहेका छन् भने समर्थक पार्टी जिल्ला उपसभापति डिल्लीराज जोशी रहेका छन्। यस्तै प्रदेशसभा ‘ख’ मा काँग्रेसबाट सुदूरपश्चिमका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले मनोनयन दर्ता गराएका छन्।

संघमा एकमात्र क्षेत्र रहेको डडेल्धुरामा देउवा २०४८ सालयतादेखि अपराजित छन्। यहाँबाट चुनाव जित्दै अहिले पाँचौंपटक देशको प्रधानमन्त्री छन्। देउवा उम्मेदवारी दर्ताका लागि व्यस्त ‘सेड्युल’का कारण डडेल्धुरा नआएको बताइएको छ।

उनी नआएपछि उम्मेदवारी दर्ताका लागि उनकी पत्नी आरजू हिजो साँझ गृहजिल्ला पुगेकी थिइन्ु। देउवाविरुद्ध डडेल्धुरामा अहिले चुनावी मैदानमा यसपटक दुई नयाँ अनुहार छन्। नेपाली कांग्रेसका पूर्वजिल्ला पार्टी सभापति कर्णबहादुर मल्ल र सागर ढकाल देउवाका प्रतिस्पर्धी हुन्। मल्ल एमालेको समर्थनमा नेपाली कांग्रेस बिपीबाट चुनावी मैदानमा होमिएका छन्। ढकाल स्वतन्त्र रुपमा देउवाविरुद्ध खडा भएका छन्। 


 


 

कमेन्ट लोड गर्नुस