सुदूर नेपाललाई विश्वसँग जोड्दै

नैनसिंह महर यता न उता, काठमाडौं–४ मा पाएको टिकट खोसियो 

२०७९ असोज २३, ०४:०५ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेसको टिकट वितरणमा संलग्न महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा दुबैको चाहना थियो, अर्थविद् स्वर्णिम वाग्लेलाई जसरी पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने।

सक्रिय राजनीति गर्न विश्व बैंकको जागिर छाडेर आएका स्वर्णिमको नाम चितवन क्षेत्र नम्बर १ बाट सिफारिस पनि भएको थियो। यो क्षेत्रबाट अर्का अर्थविद् एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल लगायतको नाम पनि सिफारिस भएको थियो।

स्वर्णिमले काठमाडौं क्षेत्र नम्बर ५ र गोरखा १ मा भएपनि उठ्न चाहेका थिए। टिकट वितरणमा संलग्न महामन्त्रीद्वय गगन र विश्वले भने अन्तिमसम्म उनलाई टिकट दिनुपर्ने अडान लिएका थिए। सुरुमा उनीहरुको जोड चितवन–१ नै थियो। तर पार्टी सभापति शेरबहादुर देउवा सकारात्मक देखिएनन्।

काठमाडौं–५ मा प्रदीप पौडेलको नाम आयो। उनको नाम तनहुँ–२ बाट सिफारिस भएको छ र उनी त्यही चुनाव लड्न चाहन्थे। तर कांग्रेस स्रोतका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबलमा शंकर भण्डारीलाई क्षेत्र नम्बर २ को टिकट दिएर प्रदीपलाई काठमाडौं–५ मा ल्याइयो। स्वर्णिमले कतै पनि टिकट नपाउने अवस्था भयो।

महामन्त्री गगनको नाम भने काठमाडौं ४ सँगै सर्लाही ४ बाट सर्वसम्मत सिफारिस भएको थियो। उनले कहाँबाट चुनाव लड्ने भन्ने निर्णय दिएका थिएनन् । सर्लाहीको उम्मेदवारबारे छलफल हुँदा पनि उनको नाम कायमै राखिएको थियो।

त्यसैले उनले स्वर्णिमलाई काठमाडौं ४ छाड्न तयार हुने समेत बताएको एक नेताले बताए। ती नेता भन्छन्, ‘स्वर्णिमलाई काठमाडौं ४ को उम्मेदवार दिएको भए गगनजी सर्लाही जान सक्नुहुन्थ्यो, यसबारे उहाँले कुनै निर्णय गर्नु भएको थिएन।’ त्यहीबेला पार्टी सभापति शेरबहादुर देउवाले भने केन्द्रीय सदस्य नैनसिंह महरलाई बोलाएर काठमाडौं ४ को टिकट थमाए। महर भन्छन्, ‘टिकटका लागि विहान मुख्य सचिव र पार्टी सभापतिले बोलाएर बालुवाटार गएको हुँ।’

जबकी स्वर्णिमले टिकट नपाएको अवस्थामा गगनले काठमाडौं ४ छाड्ने अवस्था थिएन। आइतबार विहान उनले आफू काठमाडौं ४ बाटै उठ्ने बताएपछि नैनसिंहको टिकट खोसियो । दुई पटक चुनाव जितेका गगन नै उम्मेदवार बने।

त्यसपछि देउवा निकट नैनसिंहलाई काठमाडौं ३ मा उम्मेदवार बनाउने छलफल भएको थियो। तर यहाँ पनि सन्तोष चालिसेलाई उम्मेदवार बनाइएको छ।महरको नाम भने कैलाली ४ बाट सिफारिस भएको थियो। महर आफूलाई अन्याय भएको बताउँछन्। कार्यसम्पादन समिति आफैंले बनाएको मापदण्ड विपरीत गएको र युवाहरुलाई पार्टीमा अवसर नदिइएको उनको गुनासो छ।

कमेन्ट लोड गर्नुस