सुदूर नेपाललाई विश्वसँग जोड्दै

तेस्रो विवाहबारे भुवन केसीले भनेः सोचिरहेको छु, चाँडै गुड न्युज आउन सक्ला

२०७९ कार्तिक ९, ०२:५१ खबर संवाददाता

काठमाडौंः करिब सात वर्षदेखि अभिनेता भुवन केसी र जिया केसी प्रेम सम्बन्धमा छन्। यो जोडी अहिले लिभइन टुगेदरमा पनि छ। तर परम्पराअनुसार यी दुईबीच विवाह भएको छैन। भुवन र जियाका परिवार, आफन्त र निकट फिल्मकर्मीलाई यी दुईको सम्बन्धबारे थाहा भए पनि सर्वसाधारण भने अनभिज्ञ नै छन्।

तर भुवनले चाँडै जियासँगको सम्बन्धलाई औपचारिकता दिने तयारी भइरहेको बताएका छन्। अमेरिका भ्रमणमा रहेका भुवनले सोमबार त्यहाँस्थित केही नेपाली मिडियासँग कुरा गर्दै तेस्रो बिहेलाई साकार रुप दिनेबारे बताएका हुन्। उक्त अन्तर्वार्तामा भुवनले जियाको नाम नलिइकनै माया गर्ने मान्छे आफ्नो जिन्दगीमा आएको उल्लेख गरेका छन्।

तेस्रो विवाहको तयारीमा हुनुहुन्छ भनेर सोधिएको प्रश्नमा भुवनको जवाफ छ, ‘सोचिरहेको छु। साथ दिने र सपोर्ट गर्ने मान्छे मेरो जिन्दगीमा हुनुहुन्छ। उहाँले म र मेरो फ्यामिलीलाई पनि सपोर्ट गर्नुहुन्छ। मेरो फ्यामिलीले पनि सपोर्ट गर्छ। हेरौं, चाँडै गुड न्युज आउन पनि सक्ला। हामीले निर्णय गरिसकेका छैनौं, तर मलाई माया गर्ने साथी हुनुहुन्छ।’

जियासँगको सम्बन्धबारे परिवार, आफन्त र फिल्मकर्मीले थाहा पाए पनि सर्वसाधारणले थाहा नपाएको र आफू थाहा दिएरै अघि बढ्ने योजनामा रहेको समेत भुवनले बताएका छन्। अघिल्ला दुई श्रीमतीसँगको असफल वैवाहिक सम्बन्धपछि भुवन यतिबेला जियासँगै छन्। अनमोलकी आमा समेत रहेकी सुस्मितासँगको सम्बन्ध आफ्नो कारणले भन्दा पनि उनकै कारणले टुटेको खुलासा पनि भुवनले गरेका छन्। त्यसयता नभेटेको र कुरा नभएको पनि उनले जनाए।

अमेरिकामा रहेकी जेठी पत्नीसँग भेट्ने र कुराकानी भइरहने भन्दै उनले सम्मान रहेको बताए। एक फिल्म अवार्ड कार्यक्रमका लागि भुवन र जिया गत साता अमेरिकातर्फ लागेका थिए।

कमेन्ट लोड गर्नुस