अभिनेत्रीहरुलाई सम्मान
चलचित्र विकास बोर्डले राजधानीमा आयोजना गरेको ुमहिला सशक्तीकरणका लागि सुचनाको हक अभिमुखीकरण तथा प्रशिक्षण कार्यशालाु मा अभिनेत्री करिश्मा मानन्धर, साम्राज्ञी राज्यलक्ष्मी शाह, बरिष्ठ कलाकार चत्य देबी, सकुन्तला शर्मा, बसुन्धारा भुसाल र दिपाश्री निरौलालाई सम्मान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि रहेकी प्रदेश ३ प्रमुख अनुराधा कोइराला र बोर्ड अध्यक्ष निकिता पौडेलले संयूक्त रुपमा सम्मानित महिला चलचित्रकर्मीलाई सम्मान पत्र हस्तान्तरण गरे ।
नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेको छोटो समयमै आफ्नो कलाको माध्यमबाट महिला सशक्तिकरणमा योगदान गरेको भन्दै अभिनेत्री शाहलाई सम्मानित गरिएको हो । प्रदेश प्रमुख कोइरालाले कार्यक्रममा आफ्नो विचार राख्दै कलाकार समाजका रोल मोडल भएकाले महिला कलाकारहरुले समाजलाई प्रभावित पार्न सक्ने बताइन् ।
उनले, महिला कलाकारहरुले चलचित्रमा मात्र नभएर बाहिरी समाजमा पनि सोही अनुसारको छाप छाड्ने बताइन् । कार्यक्रमको दोस्रो सत्रमा सुचनाको हक बिषयक तालिमका लागि बरिष्ठ पत्रकार बबिता बस्नेतले महिला सहभागीलाई प्रशिक्षण दिएकी थिइन् ।
चलचित्रकर्मी महिला सशक्तिकरण समितिमा संयोजक अभिनेत्री सरीता लामिछाने र सदस्यहरुमा रक्षा सिंह राणा, गीता अधिकारी, कविता शर्मा गेलाल तथा सचिवमा चलचित्र विकास बोर्डकी अधिकृत निर्मला चौलागाई रहेका छन् ।