दशरथचन्द नगरपालिका बैतडीले ल्यायो कृषि एम्बुलेन्स सञ्चालनमा
बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
गत आइतबारदेखि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको दशरथचन्द नगरपालिकाका कृषि शाखा प्रमुख दिपक कार्कीले बताए ।
नगर क्षेत्रभित्रका किसानहरुले उत्पादन गरेको कृषि उपजलाई सहज रुपमा बजारसम्म पुर्याउने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रभित्र ढुवानी बाफतको भाडादर कायम गरेर कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको कार्कीले बताए ।
सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको साढे १२ लाख र नगरपालिकाको साढे १२ लाख गरेर २५ लाखको लगानिमा कृषि एम्बुलेन्स खरीद गरिएको कार्कीले बताए ।
कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै किसानहरुलाई कृषि उपज बजारसम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ ।