सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्ल्डलिंकको एफटिटिएच ग्राहक संख्या ११ लाख नाघ्यो

२०८३ साउन १५, ०३:२५ खबर संवाददाता

धनगढी: नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ११ लाख एफटिटिएच (फाइबर टु द होम) ग्राहक पुर्‍याउँदै नेपालको डिजिटल सेवा क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ। यस उपलब्धिसँगै कम्पनीले एफटिटिएच बजारमा करिब ३५ प्रतिशत बजार हिस्सा ओगटेको जनाएको छ।

सन् १९९५ मा इमेल सेवाबाट यात्रा सुरु गरेको वर्ल्डलिंकले तीन दशकभन्दा बढी अवधिमा डायल-अप, केबल, वायरलेस हुँदै अत्याधुनिक एफटिटिएच प्रविधिसम्मको सेवा विस्तार गरेको छ। कम्पनीले सन् २०१५ देखि एफटिटिएच सेवा सञ्चालनमा ल्याएपछि देशभर उच्च गतिको इन्टरनेट पहुँच विस्तारलाई तीव्र बनाएको थियो।

ग्राहकलाई अझ उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्ने उद्देश्यले कम्पनीले हालै वाइफाई–६ प्रविधि पनि सञ्चालनमा ल्याएको छ। यस प्रविधिले उच्च गति, फराकिलो कभरेज, न्यून विलम्बता (लो लेटेन्सी) र एकैसाथ धेरै उपकरण जोडिँदा पनि प्रभावकारी कार्यसम्पादन सुनिश्चित गर्ने कम्पनीको दाबी छ।

हाल वर्ल्डलिंकको सेवा नेपालका ७४ जिल्लामा विस्तार भइसकेको छ। हिमाली क्षेत्रदेखि तराईसम्म तथा दुर्गम जुम्लादेखि अन्नपूर्ण आधार शिविरसम्म उच्च गतिको एफटिटिएच इन्टरनेट सेवा पुर्‍याएर कम्पनीले डिजिटल पहुँच र समावेशीकरणमा योगदान पुर्‍याइरहेको जनाएको छ।

कम्पनीका अनुसार ३१ वर्षभन्दा बढीको सेवायात्रामा गुणस्तरीय सेवा, नवीनतम प्रविधि, सुदृढ नेटवर्क पूर्वाधार र उत्कृष्ट ग्राहक अनुभवका कारण लाखौँ नेपालीको विश्वास जित्न सफल भएको हो। ११ लाख ग्राहकको उपलब्धिलाई कम्पनीले केवल व्यावसायिक माइलस्टोन नभई ग्राहक, कर्मचारी, साझेदार र सरोकारवालाको विश्वास तथा सहकार्यको प्रतिफलका रूपमा व्याख्या गरेको छ।

यस अवसरमा वर्ल्डलिंकले आफ्ना ग्राहक, कर्मचारी, व्यावसायिक साझेदार तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि नवीनतम प्रविधि, उच्च सेवा गुणस्तर र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखी नेपालको डिजिटल भविष्य निर्माणमा अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

कमेन्ट लोड गर्नुस