सुदूर नेपाललाई विश्वसँग जोड्दै

कन्सर्टमा र्‍यापर भिटेनको हर्कतः बोतलले आफ्नै टाउकोमा हिर्काए, मञ्चमै ढले

२०७९ असोज २४, १२:१५ खबर संवाददाता

काठमाडौंः र्‍यापर भिटेन यतिबेला सांगीतिक टूरको सिलसिलामा जापानमा छन्। आइतबार बेलुका राजधानी टोकियोमा नेपाली समुदायले कन्सर्ट आयोजना गरेको थियो जहाँ भिटेन गायकीभन्दा आफ्नो हर्कतको कारणले चर्चामा आए।

कन्सर्टमा गीत गाउँदा गाउँदै उनले अस्वभाविक व्यवहार देखाउन थाले। उनलाई संयमित तुल्याउन आयोजकलाई हम्मेहम्मे पर्न थाल्यो। गाउँदा गाउँदै बोतलले आफ्नै टाउकोमा हिर्काए।

उनी एक्कासी मञ्चमा ढले र त्यसपछि गीत गाएनन्। भुइँमै ढलेपछि दर्शकले उनको पक्षमा हुटिङ गरे। तर, आयोजकले पानी छम्किएर केही बेरमा उठाए। अनि त्यसपछि भिटेनले कन्सर्टमा गाउन नसक्ने बताए।

दर्शकले होहल्ला गर्न थालेपछि उनले आइन्दा शोज नगर्ने र यही नै अन्तिम हुने पनि बताएका थिए। तर, भिटेनले एक्कासी किन यस्तो हर्कत गरे र स्टेजमा बेहोस् भए भन्नेबारेमा दर्शक र आयोजकको आफ्नै तर्क छन्।

मदिराले लठ्ठिएर भिटेनले त्यस्तो हर्कत देखाएको त्यहाँ पुगेका दर्शक बताउँछन्। अर्कोतर्फ, आयोजक चाहिँ मदिराको कारण भिटेन बेहोस् नभएको दावी गर्छ। मदिराकै कारण उनी ढलेका हुन् वा स्वास्थ्यको कारण भन्ने कुरामा मतैक्य छैन।

यद्यपी, बेहोस भएपछि उठेका उनले शारीरिक असन्तुलनको कारणले आफू ढलेको दावी गरेका छन्। भिटेनले गाउन छाडेपछि आयोजकले उनलाई स्टेज पछाडि लगेका थिए। त्यसपछि स्थानीय कलाकार र डिजेले दर्शकलाई मनोरञ्जन दिएका थिए। मध्यपूर्वपछि भिटेन यतिबेला टूरको सिलसिलामा जापानमा छन्।

कमेन्ट लोड गर्नुस