सुदूर नेपाललाई विश्वसँग जोड्दै

तिमी भन्छौ

२०७९ कार्तिक ३, ०७:३४

-नवराज जोशी 'अविरल'

तिमी भन्छौ,
उज्यालो आयो गाउँमा,
उमङ्ग आयो गाउँमा,
अब चम्किनुपर्छ,
रमाउनुपर्छ,
तर कसरी व्यक्त गरौँ कि,
मेरो मन छैन ?

मेरो वरपर,
दशैँ र तिहारको माहोल छ,
सबैलाई नयाँ कपडाको रहर छ,
घर झिलिमिली बनाइँदैछन्,
घर आँगनमा,
 लक्ष्मिका पदचापहरु भेटिनेछन्,
वा !...
कसरी व्यक्त गरौँ कि,
यो माहोलको तयारी कस्तो छ ?

साथी भाइहरुले नयाँ लुगा किनिसके,
दक्षिणालाई छुट्टै रकम बनाइसके,
घरको सज्जा गरिसके,
मज्जाको आनन्द पाइसके,
तर मेरो मज्जा कहाँ छ
भनेर म कसरी बताउँ ?

थाहा छ,
तिमिले लगाएको उज्यालोले,
मेरा बा'को टालेको फत्तु देखिन्छ,
मेरी आमाको फाटो धोती देखिन्छ,
तिम्रो उमङ्गले,
बा'को मन धिक्कार्छ, चिथोर्छ,
आमाको वेदना असह्य हुन्छ,
भाइको आशा निराश बन्छ,
बैनीको मन पीडित बन्छ,
अनि मेरा सबै दु:खि हुँदा,
म कसरी खुसी हुन सक्छु ?
मेरो संसार नै पीडामा हुँदा,
म कसरी खुसी हुन सक्छु ?
           

 

कमेन्ट लोड गर्नुस