फिल्म ‘पोइ पर्यो बुढो’को निर्मातामा सांसद दीपक मनाङे
काठमाडौंः फिल्म ‘पोइ पर्यो काले’को दोस्रो श्रृंखला निर्माण हुँदैछ। यो फिल्मको निर्माताको रुपमा राजीव गुरुङ अर्थात् दीपक मनाङे रहेका छन्। फिल्म प्रस्तुतकर्ता किरण नेपालीले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले निर्माताको रुपमा सहकार्य गर्ने तय भएको बुधबार जानकारी दिए।
‘निर्माताको रुपमा उहाँसँग हामी सहकार्य गर्दैछौं,’ नेपालीले भने, ‘हाम्रो सहकार्य यसमा पनि निरन्तर हुन्छ।’ नेपाली र मनाङेले अहिले हलमा चलिरहेको फिल्म ‘दुई नम्बरी’मा पनि सहकार्य गरेका छन्।
‘दुई नम्बरी’को क्रेडिट लाइनबाटै ‘पोइ पर्यो बुढो’को औपचारिक घोषणा समेत भएको छ। तर चलचित्र विकास बोर्र्डमा भने निर्माताले यो शीर्षक एक वर्षदेखि ‘होल्ड’ गरिरहेका थिए। निर्माता नेपालीका अनुसार चुनाव लगत्तै फिल्म छायांकनमा जाने तयारी भइरहेको छ। तर कलाकार अहिलेसम्म तय भइसकेका छैनन्।
बुधबार नै उनी गण्डकी प्रदेशको प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित पनि भएका छन्।