आफैंले पढेको विद्यालयमा नृत्य सिकाउँदै चाँदनी यादव
धनगढी: आफूले बाल्यकालमा पढेको विद्यालयमा विद्यार्थीका रूपमा बिताएका दिनहरू अहिले चाँदनी यादवका लागि नयाँ भूमिकामा फर्किएका छन्।
कुनै समय प्ले ग्रुपदेखि कक्षा ५ सम्म न्यू एरा एकेडेमीमा अध्ययन गरेकी यादव अहिले त्यही विद्यालयमा नृत्य शिक्षिकाका रूपमा विद्यार्थीहरूलाई नृत्य सिकाउँदै आएकी छन्। यादव हाल आफ्नो अध्ययनलाई पनि निरन्तरता दिइरहेकी छन्। उनले आगामी चैतमा एसईई परीक्षा दिने तयारी गरिरहेकी छन्।
पढाइसँगै आफ्नो नृत्य प्रतिभालाई पनि अघि बढाउँदै उनले विद्यालयका विद्यार्थीलाई नियमित रूपमा नृत्य तथा सांस्कृतिक कला सिकाउँदै आएकी हुन्। विद्यालय समयपछि हरेक दिन बेलुका ४ बजेदेखि उनी विद्यार्थीहरूलाई नृत्यको अभ्यास गराउँछिन्। साना विद्यार्थीलाई आफूले सिकेको कला सिकाउँदै गर्दा चाँदनीका लागि यो केवल काम नभई आफू हुर्किएको विद्यालयप्रतिको आत्मीय सम्बन्धसँग जोडिएको अवसर पनि बनेको छ।
विद्यालयमा अध्ययन गर्दादेखि नै नृत्यप्रति रुचि राख्दै आएकी चाँदनी अहिले नयाँ पुस्ताका विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने भूमिकामा छिन्। उनको प्रशिक्षणमा विद्यार्थीहरूले नृत्यका विभिन्न विधासँगै अनुशासन, आत्मविश्वास, प्रस्तुति कला र समूहमा काम गर्ने संस्कारसमेत सिकिरहेका छन्।
‘जुन विद्यालयमा आफूले बाल्यकाल बिताएँ, त्यही विद्यालयमा अहिले विद्यार्थीलाई सिकाउन पाउँदा निकै खुशी लाग्छ,’ उनले भनिन्। न्यू एरा एकेडेमीले पढाइलाई मात्र प्राथमिकता नदिई विद्यार्थीको कला, खेलकुद, सिर्जनशीलता र व्यवहारिक क्षमताको विकासलाई पनि शिक्षाको महत्वपूर्ण हिस्सा मान्दै आएको जनाएको छ।
विद्यालयमा नृत्य, संगीत, तेक्वान्दो, खेलकुदलगायत विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन हुँदै आएका छन्। पूर्वविद्यार्थी नै पुनः सोही विद्यालयमा फर्किएर नयाँ पुस्ताका विद्यार्थीलाई सिकाउने अभ्यासले ‘विद्यार्थीबाट शिक्षिकासम्म’को सुन्दर यात्रा समेत देखाएको छ।